चैत्र १३ गते २०७५

नेपाल बन्दको कार्यक्रम फिर्ता लिन विप्लव माओबादीलाई मानव अधिकार आयोगको आग्रह

रााष्ट्रिय मानव अधिकार आयोगले नेपाल बन्दको कार्यक्रम फिर्ता लिन विप्लव माओबादीलाई आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, महासचिव विप्लवद्वारा आउँदो चैत्र १६ गते गर्ने भनिएको नेपाल वन्दको आह्वान सहितको वक्तव्यप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको बताउँदै आयोगले बन्दका कारण एसईई परीक्षा तथा नेपाल बार एशोसिएशनको निर्वाचनलाई असर पर्ने भएकाले नेपाल बन्दको कार्यक्रम फिर्ता लिन विप्लव माओबादीलाई आग्रह गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ – नेपाल बन्दका कारण यस वर्ष सञ्चालन भइरहेको विद्यालयका बालबालिकाहरुको एसईई परीक्षा एवं सोही दिनको लागि निर्धारण गरिएको कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय समितिको देशव्यापी निर्वाचनमा समेत असर पर्ने देखिन्छ । चैत्र १६ गते शनिबारको दिन एसईई अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुने कार्यक्रम रहेको छ । यसका अतिरिक्त, बन्दजस्तो कष्टकर र सामान्य जनजीवन नै ठप्प हुने किसिमको विरोधको कार्यक्रमले आम नागरिकको स्वतन्त्रतापूर्वक हिंडडुल गर्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, शिक्षा, पेशा व्यवसाय तथा रोजगारीको अधिकार र न्यायमा पहुँच लगायतका विभिन्न अधिकारको उपभोगमा असर पर्ने देखिन्छ । यस्तो अवस्थाले नेपालको संविधान एवं विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनले प्रत्याभूत गरेका अधिकारहरुको उपभोगबाट सामान्य नागरिक समेत वञ्चित रहनु पर्ने स्थिति रहन्छ ।

बन्दको आव्हनले आम नागरिकको हक अधिकार संरक्षण भन्दा जनजीवन नै कष्टकर र पीडादायी हुने हुँदा विरोधका कार्यक्रमहरुलाई फरक ढङ्गबाट प्रस्तुत गर्न; चन्दा, विष्फोट, हत्या, हिंसायुक्त कार्य नगर्न, कतै पनि भययुक्त वातावरण सृजना नगर्न, राजनीतिक विचार, आस्था र आशंकाको भरमा यथेष्ट प्रमाण विना महिला, वालबालिका वा अन्य कुनै पनि नागरिकलाई धरपकड नगर्न, संविधान प्रदत्त अधिकारको प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न, आयोग नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारलाई आग्रह गर्दछ ।

कुनै पनि द्वन्द्व, विमति वा संघर्षको स्थितिलाई प्रतिद्वन्द्व वा विवादबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिने भएको र नेपालमा पनि विगतमा भएका सशस्त्र द्वन्द्व तथा विभिन्न प्रकारका संघर्ष एवं आन्दोलनहरु वार्ता र संवादबाटै अन्त्य भएको दृष्तान्तलाई आत्मसात गर्दै त्यसतर्फ गम्भीर रहन पनि आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ । साथै, आगामी चैत्र १६ गतेको लागि आह्वान गरिएको नेपाल बन्दजस्तो आम नागरिकको लागि कष्टप्रद र मानव अधिकारलाई निस्तेज पार्ने किसिमको कार्यक्रम फिर्ता लिई मानव अधिकारको सम्मान हुने वातावरण सृजना गर्न समेत आयोग नेपाल कम्युनिष्ट पार्टीलाई विशेष आग्रह गर्दछ ।