पौष २८ गते २०७५

भक्तपुर इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलाः दुई दिनमा करिब १० करोड कारोवार

भक्तपुरमा सल्लाघारीमा लागेको तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा दुई दिनमा करिब १० करोडभन्दा बढीको कारोबार भएको छ ।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा बिहिबारबाट सुरु भएको मेलामा करिब १० करोड रुपैँया बरावरको कारोवार भएको मेला व्यवस्थापन समितिका संयोजक माधव प्रसाद प्रजापतिले जानकारी दिए ।

दोस्रो दिनको मेलामा गायकहरु क्रमशः मानश राज, सन्जिव बस्नेत, राजु श्रेष्ठ लगायतकाले सांगितिक प्रस्तुतिले मेलालाई थप मनोरन्जन दिएको संयोजक प्रजापतिको भनाई छ ।

पौष ३० गतेसम्म चल्ने मेलामा एक सय ५० स्टलहरु रहेका छन् । जसमध्ये एक सय स्टलहरुमा विद्युतीय सामग्रीसँगै सूचना प्रविधिका साम्रगी रहेका छन, भने बाँकी स्टलमा भक्तपुरका मौलिक उत्पादन, अटोमोबाइलका स्टलहरु रहेको मेलाका संयोजक प्रजापतिले जानकारी दिए ।

मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले जानकारी दिए ।

त्यस्तै मेलामा छाला ज्याकेट, बेनली कम्पनीका मोटरसाईकल, मोवाईल, एलइडि टेलिभिजन सेट, वासिंङ मेसिन, रेफ्रिजिरेटर, ल्यापटप लगायत विभिन्न कम्पनीका विद्युतिय सामग्रीहरुले अवलोकनकर्ताहरुको ध्यान तानेको आयोजकले जानकारी दिएको छ ।

मेलामा अटोमावाइल स्टलहरुमा गाडीहरुको वुकिंङ समेत भएको आयोजकले जानकारी दिएको छ ।

मेलामा विभिन्न मौलिक नेवारी परम्परागत बाजागाजा, परम्परागत रुपमा चिउरा बनाउने तरिका लगायत पनि प्रदर्शनीमा राखिएका छन् ।