पौष २५ गते २०७५

‘ग्लोवल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण अमेरिकामा भव्यताका साथ सम्पन्न

नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजार सम्म प्रवद्धन गर्ने उद्येश्यले सुरु गरिएको ग्लोवल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकामा सम्पन्न भएको छ । बिभिन्न बिधाहरुमा सर्वोत्कृष्ट कलाकारलाई अवार्ड प्रधान, कलाकर्मीलाई सम्मान लगायताका कार्यक्रम सहित ‘तेस्रो ग्लोवल नेपाली फिल्म अवार्ड’ अमेरिकाको कोलोराडो स्थित डेनभर शहरमा गत शनिवार भव्यतापूर्वक सम्पन्न भएको हो ।

ग्लोवल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीको संयुक्त आयोजनामा सम्पन्न अवार्डमा यस बर्ष सवोत्कृष्ट अभिनेता तर्फको अवार्ड चलचित्र भुँईमान्छेका लागि रमेश बुढाथोकीले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट निता ढुँगानाले प्राप्त गरेकी छन् ।

प्रदीप खड्काले स्टार अफ द इयरको अवार्ड जित्न सफल भएको यस अवार्डमा २०७४ को सफल चलचित्र छक्का पञ्जा २ सर्वोत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको छ । यही चलचित्रकी निर्देशक दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड, जितु नेपालले सह अभिनेताको अवार्ड, केदार घिमिरे (माग्ने बुढा)ले सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड र पुरुषोत्तम प्रधानले सर्वोत्कृष्ट छायाँकारको अवार्ड जितेका छन् ।

सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र कृबाट रुपा रानाले प्राप्त गर्दा अभियान श्री अवार्डबाट हास्य अभिनेता नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, निर्देशक सुरेश दर्पण र खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मानित गरिएको छ ।


हेल्पिङ ह्यन्ड्स एण्ड हेल्थ एजुकेसनका प्रेसिडेन्ट नरायण श्रेष्ठ र हलिउडका निर्देशक तथा कलाकार एभ क्रुजको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा संगीत तर्फको अवार्ड चलचित्र ऐश्वर्यको तिमी रोएको पल‘ले हाँसिल गरेको छ । यो गीतबाट अर्जुन पोखरेले वर्षको सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड र सुगम पोखरेलले वर्षको सर्वोत्कृष्ट चलचित्र गीत गायकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट गायिकाको अवार्ड चलचित्र पर्वको काले दाई‘बाट गायिका मिना निरौलाले जितेकी छन् ।

समारोहमा ग्लोबल नेपाली फिल्म स्पेशल अवार्डबाट अभिनेत गणेश उप्रेती, चलचित्र निर्देशक शैलेश आचार्य, गायक प्रेमराज महत र चलचित्र वितरक निर्माता मुकुन्द ढुँगानालाई सम्मानित गरियो ।

ग्लोबल नेपाली फिल्म डायस्पोरा अवार्ड चलचित्र निर्देशक तर्फ श्याम भट्टराईलाई, अभिनेता तर्फ शुशिल क्षत्रीलाई, अभिनेत्री तर्फ सारँगा श्रेष्ठलाई, निर्माता तर्फ प्रेम पौडेल र वितरण तर्फ रायन रेजलाई प्रदान गरिएको अवार्ड समारोहमा ग्लोबल नेपाली फिल्म स्पेसल अवार्ड जसवन्त देब श्रेष्ठ (अमेरिका), इश्वरराज थापा (क्यानडा, बिक्रम जोशी (युके), स्मृति पोखरेल (अष्ट्रेलिया) र सुनिल रावल (नेपाल)लाई प्रदान गरियो ।

ग्लोबल नेपाली फिल्म अवार्डका तर्फबाट आयोजक नवराज श्रेष्ठ र नेपाली फिल्म सोसाईटीका तर्फबाट आयोजक अध्यक्ष कृष्ण मल्ल रहेको सो समारोहमा दिवँगत दुई श्रष्टाको नाममा यही वर्ष स्थापना गरिएको स्वर्गीय श्री गेहेन्द्र धिमाल स्मृति सम्मान २०१८ बाट निर्देशक सूर्य बोहरालाई र श्री रामकेशर बोगटी स्मृति सम्मान २०१८बाट अभिनेता बिक्रान्त बस्नेतलाई सम्मनित गर्एिको छ ।

निर्माता मधुकुमार श्रेष्ठको संयोजकत्व र अभिनेता शिव श्रेष्ठ सल्लाकार रहेको अवार्डमा नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने नेपाली भुटानी कलाकारलाई प्रदान गरिने ग्लोबल नेपाली भुट्निज अवार्डबाट केदार उप्रेती र दीपक गजमेर सम्मानित भएका छन् ।

स्थानिय र चर्चित कलाकारको विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहेको अवार्ड समारोहमा कलकार्मीहरु कृष्ण मल्ल, शर्मिला मल्ल, मधुकुमार श्रेष्ठ, शिब श्रेष्ठ, तिर्थ थापा, नन्दकृष्ण जोशी, निता ढुँगाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेब त्रिपाठीलगायतका सिनेकर्मीहरु अमेरिका पुगेका थिए ।

निर्देशक सुरेश दर्पण पोखरेल र मिस नेपाल क्यलिफोर्निया अनुशा कार्कीले संचालन गरेको कार्यक्रममा अमेरिकामा रहेका सबैजसो सिनेकर्मी र विभिन्न पेशामा आवद्ध नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।