मंसिर २३ गते २०७५

जीवनमूल्यको खोजी

जीवन एउटा यस्तो भास हो, जहाँ थुप्रै अभाव र अपूर्णताहरुका साथसाथै कौतूहल र रहस्यहरुको गहिराइहरु पनि भेटिदै जान्छन् । कतिले जीवनलाई मृगतृष्णा मात्र भनेका छन् भने कतिले स्वप्नचर्या ।

आफैंमा अमूर्त, आफैंमा असाध्य विषयवस्तु भएकै कारण जीवन, ईश्वर र प्रेमका सन्दर्भहरुमा संसारका सबै मान्छेहरुको भिन्न भिन्न दृष्टिकोण वा बहुचिन्तन, तर्कबाहुल्य र दृष्टिबाहुल्य रहेको पाउन सकिन्छ । जति अध्ययन गरे पनि नसकिने असीम रुप नै सायद जीवन हो ।

असफल हुनेहरुले एउटा कोणबाट जीवनलाई बुझेका हुन सक्छन् भने सफल हुनेहरु पृथक किसिमबाट परिभाषित गर्न सक्छन् । यस्तै धनाढ्य, विलासी, सम्भ्रान्तको बुझाइमा पनि पक्कै ऐक्य छैन । यस्ता दुःसाध्य पक्षहरुका खोजीकै सन्दर्भमा परापूर्व कालदेखि संसारमा धर्म, संस्कृति, कला, सङ्गीत र साहित्यहरु सिर्जना हुंदै आएको पाइन्छ । जीवनको विराटताको अनुसन्धान, अन्वेषण र गवेषणको शृङ्खलासँगै सांस्कृतिक मूल्यमान्यताहरु जन्मिदै, परिष्कृत हुँदै परिवर्द्धित रुप ग्रहण गर्दै अघि बढेका हुन् ।

मानव सभ्यताको उषाकालदेखि नै ऋषिमुनि, दार्शनिक र चिन्तकहरूले आफ्नो पुरै आयु, परिश्रम, विवेक र दृष्टि जीवनत्वको खोजीमा समपर्ण गरे । मानवीय सभ्यता, संस्कार र सद्भावको बीजारोपण गर्ने तिनै मनीषीहरुकै विचारको आलोकमा आज मानवजातिले केही हदसम्म सत्यताको आभास पाउन सकेका छन् । जीवनत्वको खोजीकै क्रममा हाम्रा अमूल्य सांस्कृतिक वैभवहरुको भण्डारण प्रक्रिया सम्भव भएको हो ।

संस्कृति शब्दको अर्थ नै संस्कृत वा परिमार्जित रुप दिएर चम्काउनुसँग सम्बन्धित हुन्छ । संस्कृति नबुझी मान्छेले जीवन जिउने कलाका विषयमा ज्ञान हासिल गर्न सक्दैन । जिउने कला बिनाको जीवन नीरस, एकाङ्गी र खल्लो हुन्छ । जिउनुको सौन्दर्य सिर्जना गर्न नसक्दा कतिपय सम्पति, सन्तान र सबै सुविधायुक्त मान्छे पनि जिन्दगीको तृप्ति महसुस गर्न नसकी अँध्यारो गर्तमा हराइरहेका हुन्छन् । जोसँग ‘भाव’ छैन करोडौ सम्पतिको मालिक बने पनि उसको जिन्दगी जताततै अभावग्रस्त र प्वालैप्वालले भरिएको हुन्छ ।

समयअनुसार सांस्कृतिक परिष्कार र सांस्कृतिक जागरणको लहर पैदा गर्न साहित्य, कला र सङ्गीतको विकास अत्यावश्यक हुन्छ । साहित्य, कला र सङ्गीत नै मानवीय विकासका यस्ता प्राप्तिहरु हुन् जसले जिउनुको सौन्दर्य बुझ्न र सत्यको अन्वेषण गर्न उत्प्रेरित गरिरहेका हुन्छन्। जीवनजगतमा विद्यमान यावत् अपूर्णता र अभावहरुको मनोवैज्ञानिक र भावात्मक उपचार प्राप्त गर्ने स्थितिमा पुग्नु नै जिउनुको सौन्दर्य आत्मसात गर्न सक्नु हो ।

जिउनुको सौन्दर्य भौतिक सम्पन्नताले मात्रै विनिमय हुन नसक्ने उपल्लो स्तरको दृष्टिकोण र अनुभूतिसित जोडिने पक्ष हो ।

जीवनलाई सुमधुर लयमा हिंडाउन र इन्द्रेणीका रङ्गहरुमा जीवनत्वको प्रकाशन गराउन सक्दा नै जीवनमूल्य बोध हुन सक्छ । मूल्ययुक्त जीवनतर्फ उन्मुख हुन कला, साहित्य र सङ्गीतको गम्भीर ज्ञानसहितको चौडा चिन्तन र दार्शनिक सुझबुझको जरुरी पर्दछ । कला, साहित्य र सङ्गीतको पारख गर्न नजान्नेलाई सिङ् र पुच्छर नभएको पशुसँग तुलना गरिएका प्रसङ्गहरु प्राचीन समयदेखि चल्दै आएको पनि यसै कारण हुनसक्छ ।

जीवनमूल्यहरुको गम्भीर अन्वेषण हुने र सत्यको निकटतातर्फ उन्मुख रहेको अनुभूति दिने क्षेत्र सिर्जनाको क्षेत्र हो । सिर्जनात्मक दृष्टिले जीवनजगतका सारहरुलाई पहिचान गराउँदै पूर्णतातर्फ डोर्याउने गर्दछ । यसर्थ सिर्जनात्मक सौन्दर्यको श्रीवृद्धिले जीवनका मूल्यहरुलाई खोजी गर्न र आत्मसात् गर्न सिकाउँछ । जीवनका मूल्यहरुको प्रतिबिम्बन जहाँ प्रकट हुन्छ, त्यहाँका मानवजाति सुसंस्कृत हुन्छन् । सुसंस्कृत जीवनबाट जिउनुको सौन्दर्य र आनन्द सधैं उद्घाटित भइरहेको हुन्छ ।