मंसिर १६ गते २०७५

( कविता)बेलगाम गिद्धहरू – उत्तम विचार

गिद्धहरू बेलागम छन् यतिबेला
उन्मत्त छन् उनिहरू !
जो हरपल सिनोकै पर्खाईमा भेटिन्छन्
लुछुनु उनिहरूको नियत बनेकोछ
लुछिनु अबोध चल्लाहरूको नियती !
यहाँ थुप्रै निर्देश अनि अबोध चल्लाहरू
यिनै पिपासु गिद्धहरूको हठात
सिकार बनाईन्छन् अचेल !

गिद्धहरू यति हिम्स्रक हुन्छन्
कि तिन्मा अलिकता पनि
समबेदना भन्ने चिज पाईन्न
पाईन्छ त केवल भोकाएका
अतृप्त पशुतुल्य आचरण !

बस्तिहरू यिनै हिम्स्रक गिद्धहरू देखि
आक्रान्त छन् यतिबेला
चल्लाहरू कतिबेला हराउने हुन्
अनि कुन गिद्धे बाजको सिकार बन्नु पर्ने हो
यिनै चिन्तामा भेटिन्छन् तिन्का माउहरू !
दिनदाहाडै चल्लाहरू अपहरणमा पर्छन्
हठात बलात्कृत हुन्छन् उनिहरू !
त्यतिले मात्र नपुगेर आततायी यातनाको सिकार हुनुपर्छ
कति त मृत्युको मुखमा पुगि सक्छन् चल्लाहरू !
चल्लाहरू मात्र नभएर तिन्का बुढी हजुर आमाहरू पनि
तिनै पिपासु गिद्धका सिकार बन्न बाध्य भेटिन्छन् यतिबेला !

यहाँसम्म कि एउटा बुढो गिद्ध र
उस्को तन्नेरी छोरोले आफ्नै नातिनी अनि छोरिको
अस्मिता पटकपटक लुटेको खबर पढ्न र सुन्नु पर्दा
कुन स्वाभिमानी चराहरूको मन नदुख्ला…
तिन्ले आफ्नी छोरीको नाम पुजा त राखे तर…
उन्को साँचो अर्थमा पुजा गर्नु साँटो आफ्नै अतृप्त प्यास भरे !
यो भन्दा पिडादायी खबर केनैं हुन सक्ला र अर्को !

गिद्धहरू बेलागम छन् यतिबेला
उन्मत्त छन् उनिहरू !
राज्य यी र यिन्का हर्कतप्रती उदार देखिन्छ
निरीह चल्लाहरूको अस्मिता लुटिनु सामान्य लाग्छन्
लुटिनु मात्र हैन काटिनु अनि
अकालमा मारिनुले फरक पार्दैन उस्लाई !
सुनेर पनि नसुनेझैं अनि देखेर पनि नेदेखेझैं गर्छ राज्य !
पीडित माउहरूको आँसुले पोल्दैन उस्लाई !

यतिबेला एउटै टड्कारो प्रश्न उब्जिएको छ
कतै यो मुलुक गिद्धहरूको छाडा
साम्राज्यको रूपमा स्थापित हुने त हैन !
चल्लाको अस्मिता जोगाउनु
समाजको चुनौती बनेको छ यतिबेला !
हो गिद्धहरू बेलागम छन्
उन्मत्त छन् उनिहरू
मानौं यस्को लगाम राज्यको बस र क्षमता भन्दा
बाहिरको कुरा हो !
जुन यथार्थमा हुँदैहैन र
त्यसो किमार्थ हुनुहुन्न पनि !