मंसिर १५ गते २०७५

लुटको ताजमहल – माधव घिमिरे ‘अटल’

आज पनि
निर्दयतापूर्वक गला सेरिरहेछ्न् तिनीहरु
आतङ्कका तरबार तेर्स्याएर
हाम्रा पसिनाका बुँदबुँदमा ।

बेहिसाब कोरेका हौं श्रमका चित्रहरू
धराका यावत् कुना-कन्दरा ढाक्नेगरी
वर्षौं गाँस्यौँ कर्मसँग मितेरी साइनो
तेजिलो घाम जन्माउन तमाम गाउँ-बस्तीमा
किन्तु ,
अर्कैको पोल्टामा परिरहेछ अकारण
हामीले आर्जेको एक छटाक उज्यालो ।

निष्काम पौरखसँगै झुम्यौं
हामी कर्मवीरहरु हरपल
गुमाएर उन्मुक्त हाँसोका तरेलीहरु
र, पनि
कहिल्यै भेटिएन समृद्धिको अर्थशास्त्र
कहिल्यै भरिएन एक घल्ची सुख ।

बजारशास्त्रलाई बिक्री गरेर
स्वाभिमानी शिर
सिञ्चेर रगत र पसिनाका थोपाथोपा
जीवनभर जोत्दा ´नि ज्युला र सुर्काहरु
सन्तुलित भएन जीवनको अङ्कगणित ।

मालिक नभई मालीमात्रै बन्न खोज्यौं ,भएन
बाँझो नभई बालीमात्रै बन्न खोज्यौं ,भएन
बरु पलपल मौलाए भूमिलाई च्याँखे थाप्नेहरु
रातदिन बौलाए निधारमा माटो टाँस्नेहरु ।

जलाएर मार्क्सबाजेको अर्थशास्त्र
डढाएर माओ र एङ्गेल्सका समाजशास्त्र
गाउन लगाएर समृद्धिको आडम्बरी गीत
आजभोलि त ,
अप्रिय मजाक गरिरहेछन् शासकहरु ।

दर्दैदर्दको रास माथी दिल बहलाउनेहरुले
सन्ध्यामा एक चिम्टी उज्यालोका निम्ति
आफैंलाई निथ्र्याएर
जलाएको जीवनको पानस
यदि खोसे भने तिनले बलपूर्वक
छेक्ने छैनन् कुनै यिशुका आशीर्वादले
दहन गर्न लुटको ताजमहल ।