मंसिर ५ गते २०७५

‘विदेश जानासाथ बलात्कृत भएँ सर !’

काठमाडौंबाट चौतारा आउने मेलोमा थिएँ । पुरानो बसपार्कमा अनायास ‘रविनसर’ भन्ने आवाजले ध्यान खिंच्यो । एक परिचित लाग्ने युवती मलाई देखेर मुस्काईन् अनि सोधिन्– ‘चिन्नु भएन ? म सविना (नाम परिवर्तन) । सरले मलाई एसएससीमा अंग्रेजीको ट्युसन पढाउनु भएको होइन ?’

‘ए, अँ, चिनेँ । अनि कता हो नि हिजोआज ?’ तर वास्तवमा मैले उनलाई सम्झेको भने होइन । उनले जवाफ दिइन्– ‘हजुर चौतारा जान लाग्नुभएको हो ? यदि हो भने एउटा दुःख दिऊँ कि भनेर ? मेरो ममीलाई औषधी लगिदिनुपर्ने थियो, त्यसैले ।’ मैले स्वीकृति जनाएँ अनि उनले दिएको सानो पोको जिम्मा लिएर व्यागमा राखेँ र मोबाइल नम्बर सेभ गरेँ । उनी त्यही कामको लागि बसपार्क आएकी रहिछन् । उनको काम बन्ने भएपछि कृतज्ञता जनाएर मुस्कुराईन् ।

औपचारिकतालाई अघि बढाउँदै उनले नै चिया खान जाने प्रस्ताव राखिन् । त्यसपछि कहानी सुरु भयो । ‘कहाँ छौ अचेल ? कहाँ जब गर्छाै ?’ मैले सोधेँ ।

उनले मुख कच्याक्ककुच्चुक पारिन् अनि भनिन्– ‘के जब हुनु नि सर ? एसएलसी चाहिँ जसोतसो पास भइयो । काठमाडौंमा छिरेपछि कलेज ज्वाइनचाहिँ गरेँ । घरको आर्थिक समस्याको कारण पैसा कमाउनु पर्छ भन्ने लाग्यो अनि विदेशीएँ । अगाडि पढ्न सकिएन ।’

‘ए हो र ? कुन देशमा गएकी नि ? के काममा गएकी ? पैसा त टन्नै कमायौ होला ?’ मैले सोधेँ ।

सविनाको मुहारको चमक हराएको मैले अनुभूति गरिसकेको थिएँ । उनी खासै बोल्न चाहिनन् । ‘किन के भयो ? सोध्नै नहुने प्रश्न गरेँ कि के हो मैले ?’ मैले सोधेँ ।

‘होइन सर । अब भनेर के, नभनेर के ? जिन्दगीमा गर्ने नहुने गल्ती गरियो विदेश गएर ।’

‘लौ किन नि ? अहिले दैनिक हजारौं मानिस विदेश गइरहेका छन् । प्रशासनमा पासपोर्ट लिनेको लाइन निकै लामो हुन्छ । कोही पनि युवा देशमा बस्न चाहँदैनन् । अचेल सबैको सपना नै विदेश भएको छ ।’ मैले भनेँ ।

‘होला सर । यहाँ बसेर केही नहुने भएपछि सबैले सोच्ने त विदेश नै हो । मैले पनि त्यही सोचेँ । आखिर त्यो सोच नै मेरो लागि दुर्भाग्यपूर्ण भयो, घातक सिद्ध भयो, अनि मेरो बर्बादीको कारक बन्यो ।’ सविनाले एकै सासमा भनिन् अनि मौनता साधिन् ।
मलाई लाग्यो– कतै सायद हाम्रो गफ गर्ने टपिक नै गलत भयो । व्यर्थमा म फसेँ अनि मसँगै उनी पनि फसिन् । औपचारिकतामा गर्ने कुराहरु त अरु पनि हुन्छन् नि ! चिया खाएर अब ‘जाउँ है ?’ भनेर छुट्टिन पनि कस्तो–कस्तो अप्ठ्यारो र अलिनो लाग्ने भयो । यो मलाई मात्र होइन, सविनालाई पनि त्यस्तै फिलिङ भएको महसुस गरेँ । उनको मुखबाट कदाचित् ‘दुर्भाग्य, घातक, बर्बादी’ जस्ता शव्द ननिक्लेको भए हामीबीच यो असामञ्ज्यसता हुने थिएन । उनी ठूलो संकट झेलेर आएकी रैछिन् भनेर बुझ्न गाह्रो थिएन ।

उनी राम्री र आकर्षक देखिन्छिन् । उनको शरीर लोभलाग्दो छ । तर त्यसभित्र अतिसय पीडा पनि छ भनेर कल्पना गर्न गाह्रो थियो । मौनतालाई आइसब्रेक गर्नुपर्छ भन्ने ठानेर मैले भनेँ– ‘भन सविना के भयो ? कहिलेकहिँ पीडा, दुःख, कष्टहरु अरुलाई सुनाउँदा पनि मन हल्का हुन्छ । तिमीले विदेशमा दुःख पाएकी रहिछौ भनेर मैले बुझिसकेँ । ल सुनाऊ तिम्रो कहानी, म सुन्छु । यदि कुनै तरिकाबाट तिमीलाई हेल्प हुन्छ भने म त्यो पनि गर्छु ।’

उनी हल्का मुस्कुराइन् । अनि लामो सास तानेर मुखाकृति बिगार्दै भनिन्– ‘मलाई छ नि सर, मेरो देश, यो देशको सरकार अनि पुरुषहरुप्रति नै ठूलो घृणा छ अचेल ।’

उनको कुरा मेरा लागि अस्वाभाविक थियो । उनले यस्तो कुरा गर्लिन् भन्ने अपेक्षा थिएन । ‘किन नि ?’ मैले सोधेँ ।

‘केटी मान्छेलाई विदेशमा पठाउनुजस्तो निकृष्ट काम केही होइन । त्यो पनि खाडीमुलुकमा केटी मान्छेलाई पठाउनुजस्तो घटिया काम अरु केही हुन सत्तैmन । केटीहरु विदेशमा सुरक्षित हुन्नन्’ सविना एग्रेसिभ देखिइन् ।

‘हो त्यो त ।’ मैले भनेँ ।

उनी बोल्दै गइन् । ‘मलाई पनि हाउसमेटको काम भनेर पठाइएको हो । मेरो काम भनेको घरायसी घरधन्दामा सघाउनु थियो । तर सर, कतार गएको भोलिपल्टै म मालिकबाट बलात्कृत भएँ । उनीहरु हिन्दूलाई भनेपछि मान्छे नै ठान्दैनन् । मालिकबाट मात्रै होइन, मालिकको छोरा, उनीहरुको पुरुष पाहुनाहरुबाट समेत बलात्कृत हुनुपर्छ नेपाली केटीहरु । मैले मात्रै होइन, त्यहाँ थुप्रै नेपाली कामदार केटीहरुको नियति त्यस्तै हो ।’ उनको अनुहार रौषले धपक्कै बल्यो ।

मैले के भन्ने ? ‘अनि त्यहाँ पुलिस प्रशासन पनि त होला नि ? उजुरी गरिनौं ?’ मैले सोधेँ ।

‘सब बिकाउ छन् । पुलिसमा गयो, जुन घरबाट भागेर आएको हो, त्यही घरमा फर्काइ दिन्छन् । कतिपय केटीहरु पीडा सहन नसकेर आत्महत्या गर्छन् । विद्रोह गर्नेलाई मारेर मरुभूमिका फाल्नु त उनीहरुका लागि सामान्य कुरा हो सर । विदेश कहाँ आफ्नो देश जस्तो हुन्छ र ? कसले सुन्ने हाम्रो पीडा ?’

मैले मौनता साधेँ । उनको कुरा सुन्दै गएँ ।

‘घरमा फोन गरेर यस्तो भयो भन्ने कुरा भएन । कतिपयका लोग्ने वा ब्वाइफेण्ड पनि हुन्छन्, उनीहरुलाई भन्ने कुरा भएन । बाउआमालाई भनेर पीडा दिने कुरा झन् भएन । दूताबासले हाम्रो कुरा सुन्दैन । नरकको जिन्दगी भोग्नु पर्छ सर विदेशमा । केही पैसाको लोभमा गयो तर सपना सबै तुहिन्छ विदेशमा ।’ सविनाको मुहार रातो भयो ।

उनी थप्दै गइन्– ‘सरकारलाई यी सब कुराको मतलब छैन । विदेशबाट पैसा आए पुग्छ । अनि आफ्नो स्वार्थका लागि जनताले जे जस्तो दुःख भोगेपनि केही मतलब नहुने रहेछ हाम्रो नेताहरुलाई । सरकार कस्तो हो ? नेताहरु कस्ता हुन् ? छिः के भन्नु ? के राम्रो छ भन्नु हाम्रो देश ?’

सविनालाई म के उत्तर दिऊँ ? उनलाई सहानुभूति दिने शव्दसमेत मसित थिएन । तर उनले जे भनिन् मलाई आफ्नै ठानेर भनिन् । उनको पीडाको अगाडि किकर्तव्यविमूढ भएँ म । म के नै मल्हमपट्टी लगाउन सक्छु र उनको घाउमा ?
‘तिमी आएको कति भयो नि ?’ मैले सोधेँ ।

‘दुई महिना भयो । मलाई रोग लागेपछि उनीहरुले नै राखेनन्, ‘तिम्रै देशमा जाऊ’ भनेर नेपाल फर्काइ दिए ।’ सविनाको गहमा आँसु छचल्कियो ।

केहीक्षणको भलाकुसारीपछि हामी छुट्टियौं । उनले अघि भेट्दाको हाँसो हाँसेर मसित विदा भइन् तर त्यो हाँसोभित्रको कहालीलाग्दो पीडा म सहजै देखिरहेको थिएँ ।

भोलिपल्ट सविनाले उनको आमा औषधि लिन आउँदैछिन् भनेर फोन गरिन् । भेटेँ उनकी आमालाई तर उनको आमालाई सविनालाई एड्स लागेको कुरा थाहा छैन ।

अहिले पनि दैनिक सयौं नेपाली युवतीहरुको विदेश जाने राहदानी बनाउन प्रशासनमा लाइन लाग्छ । तीमध्ये कतिले सविनाको नियति भोग्ने हुन् ? यो सोचेर पनि एकोहोरिन्छ मन ।