असाेज २७ गते २०७५

आमा च्यातिन्छिन् अनि मक्किईन्छिन्

 

यी आमालाई सोध कोही

सुनको पहाडसङ्ग के तिमी

आफ्नो बच्चा साट्छ्यौ ?

उत्तर आउने छ अहँ ….. !

यी आमालाई सोध कोही

अमृतको सागरको लागि के तिमी

आफ्नो बच्चाको शिर काट्छ्यौ ?

उत्तर आउने छ अहँ …. !

यी आमालाई सोध कोही

मजबुरीमा के आफ्नो बच्चाको खातिर

आफैले थुकेको थुक चाट्छ्यौ तिमी ?

उत्तर आउने छ …. अवश्य ।

यी आमालाई सोध कोही

तिम्रो बच्चाको दोषको खातिर

के तिमी हजारौँ झुटो बोल्छ्यौ तिमी ?

उत्तर आउने छ …. अवश्य ।

 

अब पालो छ

यी आमाको प्रश्न सोध्ने तिमीलाई –

म आफ्नो बच्चा तिमीलाई दान गर्नेछु

के तिमी बदलामा तिम्रो मुटु

पैंचो दिन सक्छौ केही दिनको लागि ?

उत्तर आउने छ …. असम्भव ।

यी आमालाई सोध कोही

तिमी आफ्नो बच्चाको खातिर

के तिम्रो मुटु मलाई दिन सक्छ्यौ ?

उत्तर आउने छ …. अवश्य !

फेरि किन हरेक आमाले आफ्नो बच्चाको खातिर

परिक्षाको तुलोमा आफूलाई तौलिरहनु पर्छ ?

छ कोहीसङ्ग उत्तर ?

मलाई जबाफ चाहियो ……. !

होइन भने

किन तिमी जोडिएको नातासङ्ग

आफ्नै आमालाई लिलाम गर्दछौ कवाडीको भाउ

प्रेमी र प्रेमिकाको खातिर

आफ्नै आमाको ममताको शैलमा

किन बुल्डोजर चलाउँछौ अहोरात्र र अहोदिन ?

छ कोहीसङ्ग उत्तर ?

मलाई जबाफ चाहियो ……. !

आमा आमै हुन् र त हाम्रा लागि

उनी च्यातिन्छिन् अनि मक्किईन्छिन्

आफ्नो कलेजामा लगाई

हाम्रा मीठो सुनौलो सपना देख्छिन्

त्यसैले त आमा आमै हुन्

परेलीबाट झरेको पीडाको आँसु पनि

ममताको प्यासले पिएर

आफ्नो प्यास मेटाउँछिन् ।