असाेज २७ गते २०७५

माटो र मान्छे

जब देख्छु
शीतले लपक्क भिजेको माटो
र मान्छेको पदचाप पर्खिरहेको बाटो
माटोभन्दा पर अर्को कर्म देख्दिनँ म
मान्छेभन्दा टाढा अर्को धर्म देख्दिनँ म
गरेर अनुष्ठान यही माटोमा
छरेर उज्यालो यही बाटोमा
आकाशबाट होइन
आस्थाबाट
झुल्काउनु परेको छ एउटा बिहान
कन्दराहरुमा मनका
चम्काउनु परेको छ पहिचान ।

आँखै अघिल्तिर
देख्दै छ अस्तित्वले एउटा आकार
टेक्दै छ सौन्दर्यले सम्भावना
ढकढकाउँदै छ
शुभमुहूर्तले ढोका
यस्तो बेला
बाँडिन/भाँडिन हुन्न मन
टाँढिन/छाडिन हुन्न जीवन ।

मन्दिर धाऊँ या मस्जिद
वेद गाऊँ या कुरान
चैत्य पुजूँ या चर्च
त्रिपिटक बुझूँ या बाइबल
माटोभन्दा बढी केही रोज्दिनँ म
मान्छेभन्दा माथि केही खोज्दिनँ म ।

जन्मनुको सपना भनूँ या सौन्दर्य
रोपेर माटोमा
बन्धुत्वको बिरुवा
फेर्न चाहन्छु म
शान्तिको सास
युगयुगान्तर सम्म
हेर्न चाहन्छु म
स्वच्छन्द भई
परेवा उडेको आकाश ।