असाेज १५ गते २०७५

मृत्युको मलामी – राजबाबु श्रेष्ठ ‘सागर’

म अक्षरहरुको

शैलाधिपको कुर्सी माथि बसेर

निकै दिन देखि सोँचि रहेको छु एउटा कुरो

जुन कुरो सुनेर आम मान्छेहरु हाँस्ने छन्

त्यो चीज मैले जन्माउन सके यो दुनियाँमा

सबै चीज अमर र अजर भई बाँच्ने छन् ।

हो त्यो चीज तपाइँहरुको नजरमा

एक्दमै असम्भव र आकाशमा भर्याङ लगाई

उक्लिनु जतिकै अपत्यारिलो हुन सक्छ होला

तर मेरो लागि

मेरो नजरमा आम चीज हो त्यो

मलाई सपना देख्न निदाई रहनु पर्दैन ।

म त औँसीको रातमा पनि

बूढो सूर्यको खुट्टाहरु हिँडिरहेको आँखै चिम्म गरी

देख्न सक्ने बानी परेको मान्छे म त

समुद्रनै आफ्नो अञ्जुलीमा

अटाउने सक्ने बानी परेको मान्छे म त

परेलीहरु झिम्किनु भन्दा पहिले नै अन्तरिक्षमा पुगी ताराहरु गनेर फर्कने सक्ने मान्छे हुँ म त

मेरो लागि के असम्भव छ र ?

त्यसैले आम मान्छेहरु

मलाई अर्ध पागल भन्ने गर्छ ।

हो म अर्ध पागल नै हुँ

आम मान्छेहरु कुम्भकर्ण झैँ

निन्द्रामा सुतिरहेका बहुलाहरुलाई खबरदार गरेर जगाउनेहरुलाई पागल देख्दछ्न्

र कल्पनाको पाठेघरमा भावको वीर्य खसाली

कविता जन्माउने कवि र कवियत्रीहरु

सबैलाई अर्ध पागल नै देख्दछन् ।

हो कविहरु अर्ध पागल नै हुन्छ

किनकि

कविहरु प्रकृतीको भाषा बुझ्दछन्

बगिरहेको नदीलाई हिडिरहेको देख्दछन्

स्विमिङ कस्टममा तटमा बसेर

प्रेमका राप तापि रहेका प्रेम जोडीहरुको

डाहले कामुक भई

बहुला छाल बनी उठेको समुद्रको पीडा बुझ्दछन्

परिरहेको पानीलाई बादल रुएको देख्दछन्

र त बगैँचाको फूलहरुलाई आफ्ना प्रेमीका

अनि ताराहरुलाई अप्सरा देख्दछन्

त्यसैले होला

तल धर्तीमा बसेर माथि स्वर्गको

फिर्दोशको बगैँचाको कथा लेख्दछन्

हो आम मान्छेहरु ठीकै भन्दछन्

यी सब गर्ने अर्ध पागल नभै के त ?

जे सुकै होस् मलाई भन्नेहरु भनि रहुन्

अहँ मलाई फरक पर्ने छैन, फरक पर्दै पर्ने छैन

धेरै कविहरुले धेरै कविताहरु जन्माए

कविताहरु बाँचि रहे तर कवि आफै मरे

अहँ म मर्न चहान्न

यदि म मरे भने मेरो पाठेघरमा हुर्किरहेको

कविताको भ्रुणहरु सबै गर्भमै मर्नेछन्

त्यसैले त म अब मृत्यु जन्माउन चहान्छु

मलाई राम्ररी थाहा छ

जन्म हुने जति सबैको मृत्यु हुन्छ ।

हो त्यसैले त

म मृत्यु जन्माएर मृत्युको मृत्यु होस् भन्ने चहान्छु

म जस्तै हजारौँ कविहरु मृत्युको मलामी भएर

आर्यघाटमा लगी आफ्नै हातले मृत्युलाई चितामा

जलाएर अन्तिम श्रद्धाञ्जली दिन चहान्छु ।

एक फेर मैले जन्माएको

मृत्युको मृत्यु भयो भने पुनर जन्म हुने छैन

जस्तोकी मान्छे मरेपछि समाधिबाट

अहिले सम्मै जिउँदो भई कोही उठेको

मैले कहिल्यै देखेको छुईन ।

हो ठीक त्यस्तै गरी

समाधिमा मृत्युको शैय्यामा सुतेको मृत्यु पनि

कहिल्यै उठ्ने छैन र कविहरुको मृत्यु हुने छैन

कविहरु बाँच्नु पर्छ र त कविताको जन्म हुन्छ

त्यसैले त म मृत्यु जन्माउन सोँचिरहेको छु

किनकि म कवि हुँ

मलाई मृत्यु जन्माउन कुनै गार्हो छैन

मेरो लागि के असम्भव छ र ?