भाद्र २३ गते २०७५

भड्कीलो तिज र विकृतीपूर्ण गीतले गुम्दैछ हाम्रो संस्कृती र पहिचान

मानिसले आफ्नो मौलिकता र पहिचान भुलेर आयातिक अनुकरणमा सुख खोज्नु सामान्य हुन थालेको छ । समय ऋतु र मौसमको परिवर्तनसंगै आउने पर्वहरुमा आफ्नै मौलिकता र संस्कृती लुकेको हुन्थ्यो । तिनै पर्वहरुमध्य तिज पारिवारिक मौलिकता बोकेको उत्साहले भरिएको संगीतले गुञ्जिएको र उत्सवले झाँगिएको हुन्थ्यो । आमा हजुरआमा भन्नु हुन्छ’ हाम्रा पालामा त यस्तो हुन्थ्यो बाबै अहिले पो जमाना फेरियो ।’ उहाँहरुको त्यो जमाना धेरै बर्ष पुरानो होईन २०- ३० बर्ष अघिको मात्र हो ।

हजुरआमाले जमाना फेरिएछ भन्नुको मतलव हाम्रा चाडवाड मनाउने चलनसंगै जोडिएका मौलिकपन र महत्व हराउँदै गएको भन्ने भाव सहजै अनुमान गर्न सकिन्छ । पर्व र संस्कृतीको मान्यता र मिठास थियो त्यसको गुणत्मकता कसरी नाप्ने ? जनै पुर्र्णिमा सुरु नहुँदै तिजका कार्यक्रम र ३ दिन मनाईने तिज महिनौं लगाएर मनाईनुले विलासिता बस्तुको प्रयोग जस्तो लाग्छ, तिजका मौलिक भाका र शब्द बर्षेनी हराउँदै गएको छ । तिज गीत आफैंमा रचना जसमा आफ्नो जीवनको भोगाई समाजका कुरिती र अन्याय, देवि देवताका किस्सा र प्राथना , समाजले छोरीलाई हेर्ने नजर, पराईको घर जानुपरेको बाध्यता त्यहाँका बिरसिला दिनको गीत गुन्जन्थे भने अहिले साथी चेलीको सम्बन्ध पनि महंगा गहना र पहिरनको प्रदर्शन जस्तो र गीतपनि तिनै सामग्रीको प्रचार प्रसार जस्तो देखिन्छ ।

समाज परिवर्तन गर्नका लागि ठुलो भुमिका निभाएको तिज पर्व अहिले धेरैलाई कमाईखाने भाँडो जस्तो भएको छ । तिज आयो भनेपछि लौ यो पालीको तिजका के गीत गाउने भनेर सरसल्लाह हुने गर्थे । म नेवार समुदायको भएपनि बाहुन क्षेत्रीको बाहुल्यता भएको समाज हो मेरो । त्यो हुँदा तिज पर्वको सम्झनामा समेटिएका धेरै प्रशंग र अनुभव म संग पनि छन् । तिज आएपछि केटाकेटी खुव रमाउँथे, मामाघर जाने लर्को चल्थ्यो, तिजमा नयाँ लुगाको माग गर्थे छोरीहरु, प्रतिस्पर्धा थिएन रौनक हुन्थ्यो त्यहाँ, उत्साह हुन्थ्यो । अहिले ग्रामिण र शहरी दुवै क्षेत्रमा माईत आएकी चेलीको घर परिवारको सन्चो बिसन्चो भन्दा पनि कस्ता गहना लगाईरहिछे, बुढो के जागीर खान्छ लगायतका कुरामा चासो छ समाजको ।

अविवाहित युवतीहरुको समुह देखिदैंन तिजका गीत लेखेर समुह मिलाएर गाउन बसेको । उनिहरुको पनि तिज पहिरन प्रर्दशनमै सिमीत बन्दै गईरहेको छ । यहि कारणले गरिवका छोरीहरु माईत आउन रहर गर्दैनन् यो एउटा पनि तिजले निम्त्याएको खराव विकृती हो ।

आज महिला अधिकारको कुरा गर्न तिज पर्खिरहनु पर्दैन । कुनै गीत गाएर आफ्ना पिर मर्का र प्रेमलाई पोख्नु पर्दैन । माईत जान आउन सासु र श्रीमानको अनुमती कुर्ने चलन पनि हराउँदै गएजस्तो लाग्छ । हुनत तिज दाजु भाईसंग पनि जोडिएकाले तिजका गीतमा पुरुष आवाज मिसिनुलाई अन्यथा लिन नमिल्ला । तर माया पिरती मिसिएका सस्तो मनोरञ्जनका लागि निर्मित तीज गीतमा पुरुषले उफ्रि उफ्रि नाचेको र दोहोरी खेलेझैं बुढा बुढी र प्रेमी प्रेमिकाले गायको देख्दा पारिवारिक शिष्टता र संस्कारको अपमान भएको झल्को हुन्छ जसको उदाहरणमा ढाडे बिरालो, केरा काटेर लगायतका गीतले जति स्पष्टिकरण दिएपनि यि गीत र भिडियोले अश्लिलतालाई प्रस्तुत गरेको छ भने महिला अधिकारको साट्टो भट्टी भित्रकी साउनी संगका संवाद, बैंश र यौवनको चर्चा, छोटा पहिरनलाई बढवा लगायतका बिषयबस्तु रोजिनु तिज जस्तो मौलिक पर्वको अपमान र बदनाम गरिनु हो । जुन गीत परिवारको छेउमा बसेर सुन्न हेर्न मिल्दैन ति सबै असामाजिक गीत हुन् मेरो मान्यतामा । यसलाई निरुत्साहित पार्नुको साटो सम्बन्धित निकायले मौन समर्थन गरिरहेको आभास हुन्छ ।

बर्खा यामको खेतिपातीको काम सकेर चेलिबेटी जन्मघर जाने र ३ दिनकै लागि भएपनि थकान घटेको महशुष गरिने यो पर्वले बैज्ञानिक महत्व पनि बोकेको छ । अघिल्लो दिन दर खाएर भोलीपल्ट भगवानको उपासना सहित बर्त बसिनु स्वास्थ्यका दृष्टीकोणले पनि राम्रो मानिन्छ । अहिले चलेको मासुका परिकार र नसालु पेय पदार्थ सहितको रमझम तिजको दर भित्र पर्दैन, घिउ दुध, सिजन अनुसारको तरकारी, अनदिको चामलबाट बनेको परिकार लगायतका साधारण र पौष्टिक खाना दर हो । साँझबाटै नाचगान गरेर राती खाईने दरले भोलीपल्टलाई समेत आड दिने भएकाले १ दिनको निराहार बर्तले पनि स्वास्थ्यमा खासै समस्या देखिदैन । १ दिन खालीपेट राखेर पानी पिउँदा पेट सफा गरिने यो वर्त वैज्ञानिक पनि छ । धर्म त्यो कुरा हो जसले तन मन दुवैलाई शान्ति दिन्छ । तिजको वर्तलाई शिव पार्वतीको प्रेम र विश्वाससंग जोडेर हेरिन्छ । पार्वतीले शिवलाई आफ्ना पतिको रुपमा पाउन गरेको तपस्या र शिवले पार्वतीलाई सिकाएको ध्यान र योगाको कलाको अनुशरण गर्नु आजको चेलीका लागि मार्गदर्शन पनि हो किनकी दिनहुँको अस्तब्यस्त जीवन शैली, परिवार र प्रेममाथी हट्दै गएको ईज्जत र विश्वासको बचाउका लागि पनि यस्ता पर्व र धार्मिक आश्थाले सहयोग पुर्याउँछ ।

आज बर्हिमुखी जीवनशैलीले हामीहरुका आन्तरिक स्वभाव र आफ्नोपनलाई दवाउँदै लगेको छ । तिज यस्तो पर्व हो जो नेपाल र नेपालीको मात्र पर्व हो । बिषेशत नेपाली भाषिहरुका माझ नै यो लोकप्रिय छ किनकी यो हाम्रो पर्व हो र हाम्रो अस्तित्व र पहिचान हो । केहि दिन पहिले मैले बर्मा र आसाममा रहेका नेपाली चेलीहरुले तिज गीत गायको र नृत्य गरेको भिडियोहरु हेरें, ति भाका मौलिक तिजका थीए पहिरन र नृत्यमा पनि नेपालीपन थियो । यो बाट के सिक्न सकिन्छ भने तिजको महत्वलाई अरु देशमा बसिरहेकाहरुले बुझेर यसको जगेर्ना र प्रवद्धन गरिनु संस्कृतीमाथीको सम्मान हो । यसरी हाँस्य ब्यगं, छाडापन र मनखुसी परिवर्तन गरिएका भाकाहरुले संस्कृती बिस्तारै लोप हुँदै गईरहेछ, अव पनि यसको बिरोध नगर्ने हो भने आफ्नो संस्कृतीका बारेमा भोलीका पुस्तालाई बताउन र बुझाउन हामीले सक्नेछैनौं र यो भन्दा लाजमर्दो कुरा अर्को के हुनसक्छ ?