असार ३२ गते २०७५

(कथा) निश्चय – लीलाराज दाहाल

आज मलाई किन किन त्यो सानो छोराको याद आइरहेको छ | छोरीहरुको याद आइरहेको छ | मनको आकाशभरि वेदनाको बादल मडारिई रहेको छ | त्यसैले त मेरो अनुहारमा तृप्तताको दियो बल्न सकिरहेको छैन | मनमनै सोच्छु – म कसरी यति धेरै निष्ठुरी हुन सकें त्यस बेला | ती प्राण भन्दा प्यारा छोराछोरी त्यति टाढा घरमा छोडेर म कसरी यहाँ आउन सकेकी हुँ ? अनि यत्रो लामो समय देखि म यहाँ एक्लै कसरी टिकेकी छु | म कस्ती आमा भएँ ? मैले कति सजिलै स्नेहको डोरी चुँडाएर छोराछोरीसंग टाढा हुन सकें | मनमा के गरूँ कसो गरूँको भाव प्रकट हुन्छ र ह्रदयभरि पीडाका काँडा उम्रन थाल्छन् | ज्यान यहाँ भए पनि मन त उतै छ आफ्नै गाउँमा , आफ्नै देशमा | अरु दिन भन्दा आज निकै नै विह्वल भएकी छु आफ्नै नियति सम्झेर | धनको कस्तो लालसा , सम्पतिको कत्रो भोक लागेको थियो मलाई | त्येसैले त सबैलाई चटक्कै बिर्सेर यहाँ आएँ सात समुन्द्र पारी धन सोहोर्नलाई | अल्कोहलले खाई सकेको ख्याउटे अनुहार र दुब्लो शरीरका साथ पति सपनामा आउनुहुन्छ र सोध्नुहुन्छ – “ सन्चै छौ ? कस्तो छ त्यहाँ ? ”

यहाँ कस्तो छ भनूँ र खै | धेरै धन कमाउने हौसलाको ठूलो नदी तरेर यहाँ आएँ र डुबें बिछोडको पोखरीमा | मनमा बेचैनीको हुरी चल्न थाल्छ सबै कुरा उडाउला जस्तो गरी | बिस्तारै समालिन्छु र मन बुझाउंछु | फेरि तुरुन्तै छोराछोरी आउंछन काखमा बस्न सपना मै | सपनामा छोरी आउँछे र बरर्र आँशुका दाना खसालेर भन्छे –“ मम्मी, तपाई कति निष्ठुरी हगि ? तपाइलाई कति चाहिएको धन | हामी भन्दा पनि धन पो ठूलो तपाइलाई ? “

सपनाबाट झल्याँस्स ब्युँझन्छु | छोराछोरी त छैनन् वरिपरि | सपना मै आफ्नो बह पोखेछन् उनीहरुले |

म यहाँ आएकी पनि हिजो पुरा एक वर्ष भयो | एउटा सिंगै युग बिते जस्तो लाग्न थाल्यो मलाई | बितेको यो एक वर्षमा घरमा कति परिवर्तन भैसक्यो होला | छोराछोरी स्नेहको भोकले दुब्लाए होलान् | नियास्रोपन कति बढ्यो होला उनीहरुमा | पतिको गैरजिम्मेवारीपन अझै बढ्यो होला | उहाँको अल्कोहल यात्रामा रातो बत्ती बाली दिने कसले ? ट्राफिक प्रहरी बिनाको सडक जस्तो अस्तव्यस्त भयो होला जीवन पनि |
कतारको दोहा शहर स्थित एउटा अग्लो गगनचुम्बी महल भित्र छु | महल जत्रो अग्लो छैन मेरो चाहना | एउटा सुपर मार्केटमा काम पाउंछु भनेर यहाँ सम्म आएँ | तर अफसोच ! भनेको काम कहाँ पाएँ र ! यहाँ आए पछि पो सात तला माथिबाट खसेको सिसा झैं चकनाचुर भएँ |

मलाई यहाँ पठाउने म्यानपावर कम्पनीले त मलाई आश्वासनको चेक मात्रै दिई पठाएको रहेछ जुन चेक यहाँ कतै पनि चलेन | खोटो मोहोर जस्तो चेक लिएर म धेरै दिन भौंतारिएं | बेरोजगारीको भासमा गाडिएर मैले निकै दिन रोएर बिताएँ | बल्ल बल्ल काम पाएँ घरेलु नोकर्नीका रुपमा एउटा बुढो मान्छेकोमा | चुक अमिलो झैँ अमिलिएको छ मन त्यसै त्यसै | बेदनाको झरीमा रुझ्नु पर्दा मन पनि गल्दो रैछ शरीर जस्तै गरी |

यस शहरमा म जस्तै धेरै थरी मान्छेहरु अटाएका छन् | विभिन्न देशबाट आएका विविध भाषा संस्कृतिका मान्छेहरु | तर पनि सबैको अनुहारमा उही बिरानोपन पढिरहेकी छु | उही दिक्दारी देखिरहेकी छु | भौतिक रुपमा त कुनै कुराको कमी छैन तापनि कता कता के के को अभाव खड्कीरहन्छ भित्रै देखि | लाटो वर्तमानको भद्दा उपस्थितिले मनमा अशुन्दर बिम्ब बनाईरहेको अनुभूति हुन्छ | धनको मोह त भंग भैसकेको छ हिजोआज | तेसैको अदृश्य डोरीले बाँधेर मलाई नियतिले यहाँ सम्म ल्याई पुरयायो | म नियतिकै पछि पछि दौडन बिबश एक महिला न हुँ |

उमेरको अन्तिम अवस्था भएको नभएता पनि प्रौढावस्था शुरु भैसकेको तर शारीरिक रुपमा भने अझ सक्रीय एक पुरुषको घरमा सेविकाको नोकरी पाएकी छु | नरमाइलो नै लागे पनि मैले अझै केहि समय यतै बिताउनु पर्छ भन्ने कुराले मेरो मन पिरोल्दै छ | बिद्रोह गरेर फर्कने इच्छा नपलाएको पनि होइन तर किन किन तेसो गरि हाल्न पनि सकेकी छुइन |

बुढो मालिकको उपस्थिति मलाई पटक्कै प्रियकर लाग्दैन | के गरूँ म त घरेलु कामदार न हुँ भन्ने बोध हुनासाथ कता कता आफ्नु स्वाभिमानमा ठेस लाग्न पुग्छ | काम तिर पटक्कै मन जान सकिरहेको छैन | मनमा के के कुरा खेलिरहन्छ | कहिले पतिको याद आउंछ कहिले छोराछोरीको | बुढो मालिकको अप्रत्यासित उपस्थितिले मेरो मनलाई नेपालबाट कतार नै फर्काइ सकेको हुन्छ | बुढो अलि दिउसै आयो आज | यो बुढो पनि आजभोलि मलाई देख्नासाथ उदास हुन थालेको छ | उ सबै कुरामा सम्पन्न भए पनि नितान्त एक्लो थियो |

एक्लोपनको भारी बोकेर जसोतसो बाँची रहेको थियो | खुसी हुँदा उ कहिलेकाही म नजिक आउंथ्यो र आफ्नो दुखको भारी विसाउन खोज्थ्यो | म उसको भाषा पुरै बुझ्दिनथें अनि उ इशाराको सांकेतिक भाषा पनि प्रयोग गर्न थाल्थ्यो | उसको हाउभाउ हिंस्रक नभए पनि उ नजिकै आउँदा म उसलाई भयानक सिंहमा फेरिएको देख्न थाल्थें अनि आफुलाई केवल बाख्राको असहाय पाठोको रुपमा पाउँथें | भुइचालोले हल्लाएको जीर्ण भवन झैं थर्थराउंदै म भित्र तिर दौडन थाल्थें |तर आज त्यस्तो केहि भएन | म उसै टोलाएर बसेको देखेर उसले के सोच्यो कुन्नि | उसले मलाई बाहिरबाटै बोलायो |

म बाहिर आएँ | उसले मलाई बिहान देखाएका शिशाका टुक्रा तिर उसका आँखा सोझिए र उसले मलाई आँखैले प्रश्न सोध्यो – “ किन सफा नगरेको ? “

मैले तुरुन्त उसले देखाएका शिशाका टुक्रा उठाएँ र पर लगेर फोहोरको कन्टेनरमा राखी दिएँ |

बुढो अचम्मको मान्छे थियो | ७१ बर्षको भए पनि उ सकृय र हृस्टपुस्ट नै थियो | उसकहाँ म घरेलु सेविका भए पनि मैले खाना बनाउनु पर्दैनथ्यो | उ खानेकुरा बाहिरबाटै मगाउंथ्यो | उसलाई कुनै कुराको कमी थिएन | अभाव थियो त केवल श्रीमतीको अभाव थियो | म नजिकै रहेका बेला उ प्रसन्न हुन्थ्यो | बोलीबाट अभिव्यक्त नगरे पनि उसको अनुहारले त्यो बताई रहेको हुन्थ्यो | उसले आफ्ना नीजि र व्यक्तिगत काम पनि मबाट नै गराउँथ्यो | उ नुहाए पछि आफ्नो अर्धनग्न देह मेरो अगाडि पल्टाई दिन्थ्यो अनि म बिबश हुन्थें उसको शरीर मालिश गर्न | यस्तो बेला मेरो क्रोधको ज्वाला दंकन थाल्थ्यो | तर म सहन बाध्य थिएँ | मलाई पनि त अप्ठेरो हुन्थ्यो नि ! एउटा पर पुरुषको अर्धनग्न शरीर मालिश गर्नु अनि अंग अंग सुम्सुम्याई दिनु म जस्ती ३५ बर्षीया महिलाका लागि सहज काम पक्कै थिएन |

मन भित्रका यावत चाहना र इच्छाहरुलाई नफुक्ने गरी बलियो संग बाँधेर नेपालमै छोडेर आएकी थिएँ मैले | कहिलेकाहीं लाग्थ्यो यो काम छोडेर अर्कै काम खोजूं | विदेशको ठाउं अर्को काम भेट्न पनि कहाँ सजिलो थियो र ?

सोच्दा सोच्दै अतितका पुरा पानाहरु स्मृतिको तखतामा एक एक गरी पल्टन थाल्छन् | म सम्झन थाल्छु ——

अलि अलि भएका गहना सस्तैमा बेची दिएँ | माइती तिर पनि हात पसारें | अभावको पिङ्गमा मच्चिन थाले पछि त शरमको पर्दा पनि आफैं च्यातिँदो रहेछ | मैले पनि लाजको घुम्टो खोलेर मिल्काई दिएँ | अनि म यता आउने योजना बनाउन थालें | बैदेशिक रोजगारी सुखकर भएर होइन | मेरो जिन्दगीको आकाशमा बाध्यताको बादल मडारिन थाली सकेको थियो |

खोजखाज गरेर साठी हजार बनाएँ र यहाँ आइपुगें | पतिको अनुमति लिनु आवश्यक पनि ठानिन | सामान्य जनाउ मात्रै दिएँ हिंड्ने बेलामा | आफ्नै देशमा हुँदा पनि अभाव नै थियो | पतिको तलबले उहाँलाई नै पुग्दैनथ्यो | पतिबाट सहयोग पाउनु सम्भव नै थिएन | आफु लगायत छोराछोरीका चाहना बन्धकीमा थिए | आबश्यकताको पहाड झन् झन् अग्लो हुँदै गए पछि त घर व्यवहार चल्न पनि छोडी सकेको थियो | कलकलाउंदा छोराछोरी छोडेर म त्यसै आएकी होइन नि यो परदेशमा !

आउन त आएँ यहाँ | तर बिल्कुलै एक्ली भएँ | घर मालिक बुढो जस्तै एक्ली | यो घरमा म छु र छ त्यो उदास बुढो तर नितान्त एक्ला एक्लै | उसकी स्वास्नी जो मरी सकी, उसको स्थान मैले लिइ दिनु पर्ने भन्ने उसको चाहनालाई मैले ठाडै लत्याई दिएँ | म संग बसेर तिमीलाई कुनै कुराको कमी हुने छैन भन्थ्यो बुढो | मलाई भने अभाव थियो त आफ्नै घर परिवारको |

अब त बुढो पनि कस्तो कस्तो लाग्न थालेको थियो मलाई | आइरन नगरेको कपडा जस्तो खुम्चिएको कोप्चो अनुहार म तिर फर्काएर मलाई उदास आँखाले हेरिरहन्थ्यो उ | सायद उ मेरो अलकत्रा उप्किएको सडक जस्तो बिग्रेको जीवन नियाल्न चाहन्थ्यो |

आफ्नो देश छोडेर रोजगारीका लागि यति टाढा सम्म आउनु , विभिन्न खाले अतृप्त पुरुषहरुको आँखामा पर्नु , चाही नचाही उनीहरुकै इच्छा अनुसार चल्नु र कुनै पनि बेला नाईंनास्ती नगरी उनीहरुको सेवामा हाजिर हुनु कम्ति पीडादायी व्यवहार होइनन् नेपाली नारीहरुका लागि | तैपनि कयौं महिलाहरु रोजगारीका लागि आफ्नो जन्मभुमि छोडेर यहाँ आइरहेकै छन् | देशमा रोजगारीको अवसर भए म यहाँ किन आउंथें ? अरु किन आउंथे ? भर्भराउंदा युवा-युवती आफ्नै देशमा हुने थिए | यस्ता कुरा मनमा आउँदा पनि मन पोलेर खपी नसक्नु हुन्छ | फेरि एक बोतल पानी सिध्याएँ | अनि अलिकता बेचैनिको ज्वाराम्स घटेर गयो |

अहिले यहाँको समय अनुसार रातको ९ बजेको छ | बूढोले अब कुनै काम लाउने छैन | उ म संग त्यति खुसी छैन किन कि उसको मलाई स्वास्नी बनाउने चाहना बालुवाको घर जस्तै भताभुङ्ग भैसकेको थियो | त्यसैले अचेल उ दु:खको भारी बोकेर हिड्न थालेको थियो | बूढोको ढोकामा गएर जांच गरी हेरें | भित्रबाट ढोका बन्द गरेर बुढो आफ्नो बिस्तारामा निदाई सकेको थियो |

म पनि आफ्नो कोठामा छिरें र सुस्तरी आफुलाई ओछयानमा लडाएर दिन भरीका घटनाहरुलाई केलाउन थालें | निदाउन कत्ति प्रयास गर्दा पनि आँखामा निद्राको कुनै लक्ष्यण देखिंदैन | अनि मोबाइल अन गरेर हिजो मात्रै छोरीले पठाएको इमेल हेर्न थाल्छु | उसले लेखेकी छे –-
“ मम्मी , मलाई त नियास्रो लागि सक्यो | ड्याडी पनि धेरै दिन देखि घर आउनु भएको छैन | खेतमा बाली लगाउन पनि पाएको छैन | स्कूल फी तिर्न पाएको छैन | तीन महिना पहिले तपैले पठाएको रुपैया ड्याडीले रक्सी खाएरै सक्नु भो | के गरूँ मम्मी , म के गरूँ ? ”

छोरीको इमेल पढी सकेर म धेरै बेर रोएँ | निकै बेर सम्म आँखाबाट आँशुको भेल बगी रह्यो | यति खेर म पीडाको पिङ्गमा मज्जाले मच्चीरहेकी थिएं | अव मलाई यता बसिरहन पटक्कै मन थिएन | कतारको कमाइले यता रोक्न भन्दा पनि मलाई घरको अस्तव्यस्तताले लगातार बोलाई रहेको थियो |

मैले अव यहाँको काम छोडेर आफ्नै देश फर्कने र आफ्नै गाउँ घरमा केहि इलम गरेर घर, गाउँ समुन्नत बनाउने दृढ निश्चय गरिसकेकी थिएँ | बिग्रेका पति र अस्तव्यस्त घरलाई समाल्नु थियो | अनि बुढोलाई जनाउ पनि दिई सकेकी थिएँ |

निकै अघि देखिको मेरो गनगन र आग्रह पछि बल्ल बल्ल मलाई बिदा गर्न बुढो राजी भएको थियो | अनि त के चाहियो र | म त कल्पनाको बायुपंखी घोडा चड्न हतारिएं |

छोरी दिलासा , रेवा र छोरो सुगम एक्कासी मेरो काखमा बस्न आइपुगे खुशीको रुमाल हल्लाउंदै | बल्ल मैले आत्मसात् गर्न सकें –– “ रुपैयाँ भन्दा त सन्तान र आफ्नो देश नै प्यारो हो | ”

अनि म छोराछोरीको हात समाएर आत्मियताको कालोपत्रे सडकमा निस्किएँ | यतिखेर मेरा आँखामा आँशुका फूल फुलिरहेका थिए जुन पीडाका नभएर खुशीका थिए |

मेरो शरीर कतारमै भए पनि मन भने कति छिटो नेपाल आइपुगी सकेको थियो |