चैत्र २३ गते २०७४

(कविता) अन्तिम इच्छा – हेम प्रभास

म त्यहीँ छु
जहाँ, तिमीले निचोरेर गएथ्यौ– मुटु
आज गुराँस फुलेको छ !

एक्लै छोडिएपछि
कयौँ रात सजाएँ शिरमा–
सादा सपनाहरुको श्रीपेच
र, बनिहेरेँ– रहरको राजकुमार !

जूनताराले बिर्सी गएको सुकिलो दहलाई
सुनाएँ– बिछोडको अशक्त धुन
सिकाएँ– सहनशीलता
र, शिक्षक बनेँ– एकान्तको !

आए थरीथरीका ऋतुहरुका गायक
सुनाए पालैपालो– जीवनको आधा गीत
र, छोडी गए मनको वृक्षमा–
सम्झनाको धमिलो चोट !

मान्नुपर्दोरहेछ– दुःखलाई सहयात्री
प्रेमले मुसारेपछि
फेरि कहिल्यै दुख्दोरहेनछ– दुःख !

साँझमा बतासको मन्द स्पर्शले
चाँपका पातहरुको ताली बजाइरहेको बेला
हिँडेँ– स्वयम् बाटाहरु आँत्तिने गरी हिँडेँ !
अनि पो भेटेको हुँ मैले–
आकाशको छाता ओढी बसेको
ध्यानमग्न कविजस्तो पहाड !
कविताका अक्षत् विम्बजस्ता केटाकेटी !
र, चित्रकारले फिनिसिङ दिन बाँकी
अमूर्त चित्रजस्तो आफ्नो आधा जिन्दगी !

हिँड्दाहिँड्दै सपनामा
खसिरह्यो शिरमाथि हिउँ
र, सेताम्मे भयो केश !
यादहरुको आँधी,
भुलहरुको वर्षात्
र, पर्खाइको पहराले
अँचेटिरह्यो छाती
र, दुब्लो भयो शरीर !

आफ्नी प्रेमिकालाई फकाउन
चखेवाले चोरी लग्यो–
मेरा गालाबाट गुलाबी रङ
र, चाउरियो मेरो आङ्गिक संरचना !

हृदयको हावा हल्लिँदै हतारमा
कहाँसम्म पुग्यो– मैले देखिनँ !
यतिखेर
बालुवाको घर्षण छ ओठमा !
पर्खाइको प्यासमा अल्झिएर
काँचका टुक्राहरु थुपारेको
बगरजस्तो भएका छन् आँखा !

हामीले फूलहरु हेरेर
जो बनाएथ्यौँ चित्र
उडाई लग्यो त्यसलाई पनि
दन्त्यकथाको चराले !

अहो ! कति चाँडै सकिँदोरहेछ
एउटा मान्छेको जिन्दगी !

अब त म पनि जान लागेँ
यो ठाउँ छोडेर !
जानुअघि
तिम्रो मुटुको रङले फुलेको यो गुराँस
आफ्नै हातले
तिमीलाई उपहार दिन पाए हुन्थ्यो !
———