वैशाख ८ गते २०७५

राजपाको असन्तुष्ट समूहद्वारा नयाँ पार्टी राजपा (लोकतान्त्रिक)को घोषणा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा नयाँ पार्टी घोषणा गरिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै राजपाका असन्तुष्ट समूहले राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका हुन् । राजपाका केही पदाधिकारी र केन्द्रीय सदस्यहरु राजपा (लोकतान्त्रिक)मा सामेल भएका छन् ।

नवघोषित पार्टीको तदर्थ समिति संयोजकमा अशोककुमार यादव, सह–संयोजकमा रीतेशकुमार सिंह छन् । महाधिवेशन नहुन्जेलसम्म ११ सदस्यीय तदर्थ समिति महासचिवमा सुवासचन्द्र बिराजी, जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, कोषाध्यक्षमा मधुमाया यादव र प्रवक्तामा दीपेन्द्र यादव तोकिएका छन् । केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भू पण्डित रहेका छन् ।
संयोजक यादवले राजपा नेतृत्व फाइला लुट्न लागेको र संविधान संशोधनको विषयमा कुनै भूमिका नखेलेकोले नयाँ पार्टी बनाएको बताए । ‘मधेस आन्दोलनमा निर्दोष जनताले ज्यान गुमाए, तर यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना र उनीहरुका परिवारलेमात्रै लिए’ उनले भने ‘संविधान संशोधनको विषयमा उनीहरुले कुनै भूमिका खेलेनन् बरु सत्तामा जानमात्रै हतार गरेकोले हामी अलग पार्टी बनाउन बाध्य भयौं ।’
मधेसमा अहिलेसम्म विकास नभएको बताउँदै उनले राजपा (लोकतान्त्रिक)ले अब विकासकेन्द्रित गतिविधि अघि बढाउने जनाए । कान्तिपुरमा समाचार छ ।