वैशाख ५ गते २०७५

चिनारी पत्र – राजु झल्लु प्रसाद

विध्यालयको झ्याल बाहिर
एउटा भोको बालक अंगारले भित्तामा भ माने भात लेखीरहेछ !
क्याफेटरीयमा अर्को बालक,
बर्गर लुछ्दै, बि फर बम पढिरहेछ !
हेर्नोस न सर !
यसरी शिक्षालयको गर्भबाटै
दुइ फरक विचार जन्मिरहेछ यहाँ !

एउटा बालकको जिब्रो नेपाली बोलेकै कारण अपाङ्ग ठहरिन्छ !
र, जब उसलाई सुनेर खित्का मार्छन् अंग्रेजी कानहरु,
तब मातृभाषाकै कारण शौचालयको सिलिङमा मृत भेटिन्छ- देशको भविष्य मानिएको उ।
हेर्नुस न सर !
यसरी मौलिकता मेटर कुरुप इन्टेलिजेन्सी मौलाइरहेको यहाँ।

सर मलाई
देश पढ्न पठा’का हुन बाले !
सभ्यता पढ्न पठाएकी हुन आमाले !
युग पढ्नु पर्छ बाबु भन्थे बाजे !
र, बज्यै भन्थिन संस्कार सिकेस नानी !

तर सर
जब हजुर आफ्नो खल्तिमा पि.आर. राखेर,
भानुभक्त पढाउन थाल्नुहुन्छ
बुद्द पढाउन थाल्नुहुन्छ !
सरगरमाथा पढाउन थाल्नुहुन्छ !
देश पढाउन थाल्नु हुन्छ।
विध्या.. नास मलाई विध्या…ल..य फिटिक्कै मन पर्दैन !

दोबाटोमा पुगेर पनि बाटो टुङ्गिन सक्छ भनेर किन पढाउनु हुन्न हजुर ?
गन्तव्यमै पुगेर पनि गन्तव्य नभेटिन सक्छ, भनेर किन सिकाउनुहुन्न हजुर ?

किन मेरा बा देश छाडेर परदेशीए ?
किन मेरा काकाले कलम भाचेर बन्दुक समाए ?
किन मेरा दाजु देशको लागि २ मिटर कात्रो जोगाउन लापता भयो ?
किन मेरी बहिन कुनै अपरिचित लोग्ने मान्छे देख्दा तर्सिन्छे ?
यस्ता प्रश्नका जवाफ किन लेखाउनु हुन्न हजुर ?

सपना जिउन शहर छिरेकी फुलमाया दिदिको
चुडिएको चप्पल मात्र किन फर्कियो गाऊ?
कसले जफत गर्यो बिरामी आमा बोकेर
अस्पताल दौडिएको छोराको थाप्लोबाट नाम्लो ?

कसरि लाटोकोसेरोहरुको रातमा,
परेवाहरु बाजमा रुपान्तरण भए ?
कसरी देश लेखीरहेका कविहरु
एकाएक देश बिहिन भए ?

किन आफ्नै माटोको गर्भाशय
भोक रोग र अनिकालको घर बनेको छ ?
किन जागिरको खोजी गर्नु नै जागिर बनेको छ हामी युवाहरुको ?

किन फोहरको कन्टेनरमा भेटीन्छन्
प्रेमका निसानीहरु ?
किन फुल्न सुरक्षित महसुस गर्दैनन् कोपिलाहरु ?

धेरै समय देखि धेरै यस्ता प्रश्नहरु अनुत्तरित छन- मेरो मस्तिष्कमा !

आदरणीय सर
भन्छन्,
हजुर हामी युवाहरुको भविस्य बताउन सक्नुहुन्छ रे !

मेरो पनि एउटा बिन्ती छ सर !
कृपया सुनिदिनुहोला !
हाम्रो भाग्य लेखिएको शैक्षिक प्रमाणपत्रमा,
सुरक्षित भोलि र भात लेखिएको छ कि छैन ?, बताइदिनुस न !!